"किराँत राई बान्तवा दियाम पाछा बंशावली" (वि. सं. २०७१ )
★लेखक एवं संकलक
मन्जित महात्था दियाम राई
१. किराँत राई बान्तवा जातिभित्र दियाम पाछाको संक्षिप्त परिचय
नेपालका मूल आदिवासीहरु मध्ये किराँत राईहरु प्रमुख मूल आदिवासी हुन्। किराँत राईहरुमा विविध भाषा र विविध पाछा छ। वर्तमान अवस्थामा किराँत राईहरुको २८ वटा भाषाहरु बोलिञ्छ। ति २८ वटा भाषाहरु मध्ये एउटा भाषा बान्तवा हो। बान्तवा भाषा बोल्ने किराँत राईहरु भित्र २०० पाछा र ५०० भन्दा बढी उपपाछाहरु छन्। उपपाछा भनेको एकै पाछाभित्र कुनै आन्तरिक घटना भएपछी समाजका अगुवा र मुन्धुम्विदहरुबाट निष्कर्ष स्वरुप समाधानको उपाय निकाली उपपाछामा परिणत गर्दछन, जस्तै, एउटा पाछा सोहोंवा थियो भने त्यसभित्र आन्तरिक घट्ना क्रमले गर्दा त्यसको उपपाछाहरु गुना सोहोंवा, माकुना सोहोंवा र धिकोंग सोहोंवा बनेको छ। यसैगरी दियानाहांग किराँत राई पुर्खाको सन्तानहरु कालान्तरमा दियाम पाछाका रुपमा स्थापित हुन् र यसको उपपाछाहरु पनि बन्दै गएका छन। किराँत राईहरुको मुन्दुम अनुसार समुदायगत रुपमा सामेक हुञ्छ। यो उपपाछामा छुटिएर गएपनि एकै रहन्छ, जस अनुसार दियाम पाछामा छोरा मान्छेको सामेक छंग्छामी र छोरी मान्छेको छेन्खामा हुञ्छ। यो मुन्धुमी शब्द हो। यसलाई संस्कार र उपचारमा प्रयोग गरिन्छ। उपपाछामा परिणत हुने क्रम राई जातिमा जारी रहन्छ या अन्त हुञ्छ, त्यो भविष्यले निर्धारण गर्नेछ।
२. सुनाहांग पुर्खाको बसाईं सराइ
सुनाहांग पुर्खाको बसोबास(हाल उदयपुर जिल्लाको) चौदण्डीगढी दरबारको आसपास थियो रे। उहाँ खेतीपाती र पशुपालन गर्दथे। उहाँको धेरै पशुहरु थियो रे। चौदण्डीगढी राजाका सेनाहरु धेरै थिए। उनीहरु गढीको सुरक्ष्याका लागि गढीको चारैतिर धेरै चहलपहल गर्दथे। तसर्थ सुनाहांग पुर्खालाई पशुपालन र खेतीपाती गर्नका लागि निकै असुविधा हुन्थ्यो। दरबारलाई कर तिर्नु पर्दथ्यो। पशुपालनका लागि चरणको समस्या हुने भएपछी अन्यत्र बसाईं सराइ गरी जाने सोच बनाएर खोजी गरेपछि त्रिवेणी नजिकको इलाका छोकिला भन्ने ठाउँ (हाल हल्लेड़ेटार भनिञ्छ) मा बस्ने निधो गरिसकेपछि वि. सं. १६७५ को सेरोफेरोमा पुर्खा दियानाहांगका बुबा सोनाहांग आफ्नो सम्पूर्ण जायजेथा, घोडा, गाइवस्तु लिएर परिवार सहित छिलिंग्वा खोला दोभान हुँदै दुधकोशी किनारै किनार त्रिवेणी नजिकैबाट अरुण नदी किनारपट्टि लागेछन। सोनाहांग पुर्खा कहाँबाट चौदण्डीगढी पुगेका हुन् भन्ने सवालमा हाल भोजपुर जिल्लाकै आम्चौक भन्ने गाउँबाट हेन्खारांग हुँदै दुधकोशी तरेर चौदण्डी गढीको आसपास बसाईंसराइ गरी पुगेका थिए तर सोनाहांगका बुबाबाजेहरु नै पुगेका थिए या सोनाहांग स्वयम् त्यस ठाउँमा बसाईंसराइ गरी पुगेका थिए भन्ने स्पष्ट नभएको अवस्था छ। त्रिवेणी र अरुण नदीको दोभानको केहि दुरीमा अरुण किनारमा जसलाई, त्यस बेला छोकिला भनिन्थ्यो, हाल हल्लेडेटार भनिञ्छ, त्यही टारमा आफ्ना भरिया र परिवार लाई रहने बस्ने घर र वस्तुभाउका लागि गोठ तयार गरी बस्न थाल्नुभयो रे। त्यो ठाउँ त्यति बेलाको समयमा चारैतिर वन जंगल, वस्तु भाउ पाल्नुका लागि घाँस र घरका लागि दाउरा र पानीको सुविधा अनि खेति गर्न मलिलो र फाँटबारी भएको थियो रे। यसैले सोनाहांग पुर्खाले खुशीका साथ् छोकिलामा आफ्नो स्थायी बसोबास शुरु गर्नु भएछ। दियानाहाङ्ग पुर्खा बिस्तारै उमेर बढ्दै गएपछि त्यहीं नै दियानाहाङ्ग पुर्खाको विवाह भयो। विवाह भएको केहि समय पछि सोनाहांग पुर्खाको देहान्त भयो। पहिले देखि नै छोकिला छाडेर अर्कै ठाउँ जान इच्छा गरेको दियानाहाङ्ग पुर्खा आफ्ना बुबाको देहान्त पछि त्यहाँ बस्ने इच्छा पुरै हरायेछ। उहाँ पहाड, हिमाल र चारै तिर देख्न सकिने, शितल हावा बहने, सुर्य उदय हुनासाथ प्रकाश पर्ने ठाउँमा बस्न चाहन्थे, साथै गाइवस्तु चराउन प्रशस्त खर्क भएको भुमि चाहन्थे।
३. दियानाहांग पुर्खाको दियाना आगमन
वि. सं. १७००को दशकमा एकदिन पुर्खा दियानाहांग छोकिलामा आफ्नो परिवारलाई सम्झाई बुझाई आफ्नो खाने सामान बोकी राम्रो मन परेको बास स्थानको खोजीमा घर छो...
डेर निस्कनु भएछ। अरुण खोलाको किनारै किनार गएर हतुवागढ़ीको फेदी फकुवा खोलाको दोभान पुग्नु भएछ। त्यहाँ ठुलो टार भेट्नु भएछ, जसलाई हाल लुङ्खिम बेशीं भनिन्छ। त्यस ठाउंबाट वरिपरि चारैतिर हेर्नुभएछ। त्यहाँ खेती योग्य जग्गा र त्यस ठाउँबाट अरुण कोशी वारिपारि गर्ने ठाउँ सबै बुझेर फकुवा खोलैखोला उकालो हतुवागढ़ी तिर लाग्नुभएछ। उकालो लाग्दा खोलाको किनारमा झाडी जंगल हुँदै फकुवा खोलाको सिरान तुरुन्तेंग, हाल माङ्ग्तेन गाउँको सिरान पुग्न केही दिन लागेछ। त्यो ठाउँलाई दियानाहांग पुर्खाले वस्तुभाउ पाल्न र खेति गर्नका लागि अति सुविधा हुने देख्नुभएछ। किनभने त्यो ठाउँमा प्रशस्त घाँस, समथर जग्गा अनि पर्याप्त पानी थियो। दियानाहांग पुर्खाको मनमा अब वस्तु पाल्ने सुविधाका लागि ठीक छ तर अब बस्ने घर कहाँ बनाउने भन्ने बारेमा सोच्नुभएछ। अर्को दिन बिहानै उठेर एक ठाउँमा बसेर सोचिरहदा त्यस ठाउंबाट उत्तर पश्चिम तिर हेर्दा लामो पहाड जो कि दक्षिण देखि उत्तर तर्फ़ फैलिएको थियो, त्यहीं डांडामा घामको झुल्को अथवा बिहानीको घामको प्रकाश परेको देख्नुभएछ। त्यो डांडा हतुवागढ़ी देखि ठीक उत्तर तर्फ़ फैलिएर पिखुवा र अरुण खोलासम्म पश्चिमपट्टि चिचुवा खोला र पुर्वपट्टि फकुवा खोला पर्ने हाल होम्तांग गा. वि. स. को पुरै इलाका थियो। अर्को दिन दियानाहांग पुर्खा बिहानै त्यो फकुवा खोला पारीको डांडामा घाम झुल्कनु साथ् पहिलो किरण आइपुग्ने,हिमाल देखिने, तलतिर हेर्दा अरुण, पिखुवा, चिचुवा, फकुवा खोला चारैतिर देखिने र डांडा डांडा केही बेर उकालिए पछि हतुवागढी वालाहांग दरबार पुगिने ठाउँ दियानातेन (हालको दियाना) पुग्नु भएछ। उहाँ केही दिन त्यहीं बसेर सबै कुराको अध्ययन गरी त्यो ठाउँ आफ्नो स्थायी बसोबास बनाउने निर्णय गरी फिर्नु भएछ। बाटो बाट कता बाट कसरी त्यस ठाउँमा सजिलै पुग्ने, कहाँ गोठ बनाउने सबै बिचार्दै घर फिर्नु भएछ। अब नयाँ ठाउँमा जानका लागि दियानाहांग पुर्खाको परिवारले आफ्नो तयारी शुरु गर्नु भयो। छोकिला मा भएको सबै अन्न बाली उठाई सकेर आफ्नो अन्नपात, घोडा र भरिया बाट तुरुन्तेंग हुँदै दियाना पुर्याउने बन्दोबस्ती गरी गाइवस्तु सहित बसाईं सरी आउनु भएछ र दियाना आइपुगे पछि ठुलो घर बनाउनु भएछ। त्यो घरको भग्नावशेष वि. सं. २०४५ साल सम्म देख्न सकिन्थ्यो भनी गा वि स पुर्व अध्यक्ष थाम बहादुर दियामले वि. सं. २०६३ सालमा त्यो ठाउँमा पुर्याई दियानाहांग पुर्खाको घरको भग्नावशेष देखाउनु भएको थियो। तर त्यस बेला सम्म अत्यन्तै जीर्ण भइसकेको अवस्था थियो। दियानाहाङ्ग पुर्खाको ठीक घर भएको ठाउँलाई हाल च्यानडांडा टोल भनिञ्छ। यो इलाका हाल बल बहादुर थापाको स्वामित्व मा रहेको छ। त्यहाँ पहिलो मानव बस्ती बसाउन दियानाहांग पुर्खाले भस्मे खोरिया फाँडेको हुनाले नै त्यस ठाउँलाई दियानातेन (दियाना गाउँ) भनेर नाम रहेको हो। तुरुन्तेनमा खर्कका लागि दियानाहांग पुर्खाले पहिले खोरिया फांडी गोठ बनाइ, वस्तु पालेका हुनाले कालान्तरमा अन्य समुदायका व्यक्तिहरुले पनि बस्तीका लागि बिन्ती चढाएका हुनाले, मझिया जिम्मावाल दियाम पाछाहरुले उनीहरु बसोबास गरेबापत ठेकी चारदाम तिर्ने गरी छाडिदिएका थिए। खर्क ईलाका ठुलो थियो। जमिन खेति हुने अत्यन्त मलिलो जग्गा भएको, भीर पहरा नभएको, पानी, घाँस, दाउराको अति सुविधा भएको जग्गा हुनाले मानव बस्तीका लागि अति उपयुक्त ईलाका हो। दियानाहांग पुर्खाको यो खर्क ईलाका मा घिमिरे खत्री क्षत्रीहरु ठेकी चारदाम तिरेर बस्दथे। यहाँ बस्ने घिमिरे क्षेत्रीहरुलाई अझै पनि खर्केली खत्री भनेर चिनिञ्छ। पछिल्लो समय देशमा भूमिसुधारको शुरुवात भएर त्यस ईलाकामा लागु नहुन्जेल दियानाहांग पुर्खाकै स्वामित्व र संरक्षणमा रहेको खर्क धिमिरे खात्रीहरुले धर्मलाल मझिया जिम्मावालका भतिजा पुर्व गा. वि. स. अध्यक्ष थाम बहादुर दियामसंग ठेकी चारदाम बुझाउने गर्दथे। भूमिसुधार लागु भइसके पछि भने यी कारोबारहरू समाप्त भयो। खर्केलीहरु चक्रे खत्रीका छोरा गणे खत्री, गणे खत्रीका छोरा कुमार खत्री हुन्। अझै पनि उनीहरु खर्केली भनेरै परिचित छन्।
४. दियाम पाछा दाजुभाईको पुर्ख्यौली ईतिहास
किरात राई बान्तवा पाछा भित्रका दियाम पाछाहरु कसरी भए? दियाम पाछाभित्र बागरुमी दियाम र महत्था दियाम गरी दुई उपपाछाहरु कसरी भए? भन्ने बिषयमा सम्बन्धित गाउँ निवासी आदरणीय बुढापाका तथा पुर्ख्यौली जानकार तथा मुन्धुम्विद महानुभावहरुको एकीकृत भनाइलाई नै सन्दर्भ सामग्रीका आधार मानी प्रस्तुत गरिएको छ। दियानाहांगका दुई भाइ छोराहरु थिए। जेठा छोरा जनपति र कान्छा छोरा जयगरा। जेठा छोरा जनपति तेह्र चौध बर्षको उमेर पुगेपछि कान्छा छोरा जयगरा भन्ने अर्को छोरा जन्मियो। दियानाहांगको खेतीपाती र चरन वस्तु चरण लेकदेखि अरुण खोलासम्म फैलिएको थियो। जनपतिले आफ्नो बुबालाई बिस्तारै का...
ममा सहयोग पुर्याउन थालेपछि दियानाहांगले जेठा छोरा जनपतिलाई विवाह गरिदिए। विवाहपछि जेठा छोराले बुबाको काममा अझ ठुलो सहयोग गर्न थालेका थिए। जेठा छोराको थुप्रै नानीहरु भयो। समय क्रम बित्दै जाँदा कान्छा छोरा जयगरा पनि ठुलो भैसकेको र विवाह समेत गरिसकेका थिए। त्यसपछि सबै जना भएर बुबाले आर्जेको लेकबेशीको ठाउंठाउंमा घर र गोठहरु बनाएका थिए। जनपतिका जहान परिवार ती घर गोठ हरुमा बस्दथे तर अंश बन्डा गरी छुट्टिएका भने थिएनन्। केही समय अन्तराल पछि जनापतिले आखिर दाजुभाई पछि छुट्टिनै पर्छ त्यसैले अब आफैंले एउटा घर बनाउनु पर्यो र अंश बन्डा गरी छुट्टिनु पर्यो भनेर सोच बनाएर एउटा घर बनाउन शुरु गरेछन् । त्यसबेला बुबा दियानाहांग पनि निकै वृद्ध अवस्थामा पुगिसक्नु भएको थियो। कान्छा भाइ जयगरा भने केही दिनका लागि परदेश गएको थियो। कान्छा भाइ परदेशबाट आइपुग्न भन्दा पहिले नै घर निर्माण भैसकेछ। अब घर बनिसकेपछि घरपैंचो (घर पस्ने साइत ) गर्नुपर्ने भयो। त्यसका लागि सुँगुर नै चाहिने भयो। त्यसबेला मुलघरमा कान्छाभाइ बुहारी ले एउटा सुँगुर पालेका थिए। जनापतिले त्यहीं सुँगुर प्रयोग गर्ने सोच बनाएछन् किनभने अंशबन्डा नभएकोले नछुट्टीयेसम्म त्यो सबै सम्पतिमा आफ्नो पनि हक हुञ्छ भन्ने सोच रहेकाले जनापतिले आफ्नो हकदाबीका साथ् त्यो सुँगुरलाई नै प्रयोग गरे छन्। पछि जयगरा परदेशबाट फर्केपछि घरमा परिवारबाट यो कुरा सुनेपछि दाजुभाइमा केही भानाभैरी र मनमुटाव भएछ। यो कुरा वृद्ध बुबा दियानाहांगलाई जयगराले सुनाएछन्। तब वृद्ध बुबा दियानाहांगलाई अत्यन्तै पिर लागेछ। धेरै सोच विचार गरेपछि उहाँ एउटा निर्णयमा पुग्नुभएछ। अब यो दाजुभाइको झगडा चांडै मिलाएन भने भविष्यमा सन्तान मासिञ्छ, सारीसम्मांग (दोख ) हुञ्छ। यसले सन्तान उँभो लाग्न दिदैन भनेर छोराहरु लाई मिलाउने बारेमा सोच्दा तीन वटा उपायहरु सोच्नुभयेछ।
१. अहिलेसम्मको सम्पत्ति जायेजेथा दुवै भाइलाई बाँडफांड गरिदिने।
२. पाछा र उपपाछामा विभाजन गरिदिने (किन भने त्यसबेला वि. सं. १७५० को आसपासमा यो चलन शुरु भएको थियो )
३. एउटा निश्चित शर्त पालना गर्ने वाचा निर्धारण गरिदिने।
उल्लेखित तीन विषयमा छलफल गर्ने गरी गाउँ समाजका बुढापाका र पन्च भलादमीलाई राखी भेला बसाइ दाजुभाइलाई मिलाउनु पर्छ भन्ने सोच बनाएर सबैलाई बोलाउन छोराहरुलाई निर्देशन दिनुभयो। बुबाको निर्देशन मानी दुवै भाइले सबैलाई भेला बसिदिन निमन्त्रणा गरे। भेलाका लागि आमन्त्रित सबै जम्मा भैसकेपछि वृद्ध दियानाहांगले आफ्नो छोराहरुलाई अंशबन्डा गरिदिने बारे आफुले राखेको तीन वटा सोच सहित छलफल गरी अन्तिम टुंगो लगाई दिन अनुरोध गरे। भेलामा सर्वप्रथम आफ्नो जिमी भूमिको छोटकरीमा जानकारी गराउन दियानाहांग पुर्खाले जरुरी ठानी सोको जानकारी गराउनु भयो, जस अनुसार उहाँको जमिन पुर्व नेपाल हालको भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने होम्तांग गा. वि. स. स्थित पुर्व तर्फ़ फकुवा खोला, पश्चिम तर्फ़ चिचुवा खोला, उत्तरतर्फ़ अरुण एवं पिकुवा खोला र दक्षिणतर्फ़ घोरेटारको चार किल्ला भित्र रहेको खर्क, चरन, खेतीपाती, घर, गोठ रहेको लेकवेशीं मध्ये प्रमुख स्थानहरुमा शिरिसे, गुर्धुम, ताङ्ग्छुङ्ग खोला, जैसीधारा, चण्डीडांडा, होम्तांग, दिथारा, लुङ्ग्कुवा, सोयागाउँ, दियाना गाउँ र नागथान आदि आफ्नो भएको जानकारी गराउनुभयो। भेलालाइ दियानाहांग पुर्खा बाट सम्बोधन भएपछि उपस्थित बुढापाका, बुद्धिजीवी र समाजका वृद्धहरूले दियानाहांग ले भन्नु भए अनुसार आफ्नो छलफल गर्नु अधि दुवै दाजुभाइ लाइ सोधेछन, "अब तिमीहरु बुबाको भनाइ अनुसार अंशबन्डा गर्ने बारेमा के भन्छौ?" त्यस पछि जनापति चैं बोलेनन् तर जयगराले भने, "जे जति हाम्रा बुबा बाजेको श्री सम्पति छ,त्यो लगायत घर, जग्गाजमिनलाई पनि भाग लगाएर दाजु लाइ चित्त बुझाइ दिनुस (मनाहन्तानिन, मानातोंग्सानिन)" भनेछन। "भाइले भनेको कुरा ठिक छ त?" भनेर दाजुलाई सोद्धा त्यसबेला दाजुले पनि ठिक छ भनेपछि त्यस भेलाले मूलघरमा र अन्य मातहतमा रहेका श्री सम्पत्तिलाई बाँड फाँड गरिदिए। त्यसपछि लेकदेखि अरुण खोला र त्यहाँ रहेको वस्तुभाउ कसरी भाग लगाउने भन्ने बारेमा जेठा जनपतिको घर परिवार रहेको जैसी धारा, चण्डीडांडादेखि पुर्वपट्टिको होम्तांग, लुङ्ग्कुवा, दिथारा, सोया गाउँदेखि फकुवा खोलासम्मको जग्गा जमिन र वस्तुभाउ जनापतिलाई दिने र जैसीधारा, चण्डीडांडादेखि पश्चिमपट्टिको गुर्धुम, ताङ्ग्छुङ्ग खोला, शिरिसे, दियाना, नागथान देखि चिचुवा खोलासम्मको जग्गाजमिन र वस्तुभाउ जयगरालाइ दिने भेलाको राय दुवै दाजुभाईलाइ सुनाएपछि दुवैले स्वीकारे। छलफलमा अर्कों विषय वृद्ध दियानाहांग पुर्खाको भनाइ अनुसार मेरो शाखा सन्तान हरुमा पुस्तौंपुस्तासम्म सारीसाम्मांग (आन्तरिक ...
घटना र झगडाको दोष) नलागोस, नदेखियोस भन्ने विचारले अब पाछादेखि उपपाछामा परिणत गर्नुपर्छ भन्ने सोचेर यो विचार राख्नु भएको थियो। त्यसकारण त्यो भेलाले पाछा पहिले दिने अनि उपपाछा दिने निर्णय गर्यो। छलफलमा सबैको विचार एकमतले दियानाहांगका सन्तान भएकाले यिनीहरु दियाम पाछा हुन् र अब यी दुइका सन्तानहरुलाई उपपछाहरुमा छुटाउनु पर्ने सम्बन्धमा जेठा जनापतिले बाग (सुँगुर) चलाउने निधो गरेको र यसबाट दुइ दाजुभाइमा मनमुटाव भएकोले, जेठाको सन्तानलाई बाग्रुमी उपपाछा दिने र कान्छा जयगराले मनहन्तानिन मनातोङ्ग्सनिन (बाँडीदिनुहोस र मिलाईदिनु होस् ) भनेकाले त्यहीं शब्दबाट कान्छालाई महत्था उपपाछामा विभाजन गरिदिने निर्णय गरे। यसरि निर्णायक भेलापंचले अत्यन्त महत्वपुर्ण निर्णयहरु गरी शाखा सन्तानलाई मिलाईदिने काम गरिदिएकामा उपस्थित सम्पूर्ण बुढापाका , भद्रभलादमीहरुलाइ खशी साथ् धन्यबाद दिंदै आफ्नो सन्तानहरुलाई आशीर्वाद दिए र अन्त्यमा आफ्नो छोराहरु र उनीहरुका सन्तानहरुलाइ दुइ वटा शर्तहरु पालना गर्नुपर्छ भन्ने वाचाबन्धन गराए, जस अनुसार,
१. सात पुस्तासम्म दुइ भाइका सन्तानभित्र कुनै वैवाहिक सम्बन्ध नराख्ने र
२. दुइवटा आँपको रुखहरुमा एउटा ढुंगा राखी जबसम्म यो ढुंगा रहन्छ या ती रुख हरु रहीरहन्छ तबसम्म दुइ भाइका शाखा सन्तानभित्र कुनै वैवाहिक सम्बन्ध नगाँस्ने।
जस अनुसार, ढुंगा राखिएको आँपको पहिलो रुख गुर्धुमको स्वारा भन्ने ठाउँमा जुन हाल तेइला पाछाको जानेपा भन्नेको बारीमा थियो। त्यो रुख २०५० सालमा ढलेको थियो। त्यसलाई आराले चिर्दा टुनको बीच भागमा ठुलो ढुंगा भेटिएको र त्यो ढुंगा नै दियानाहांग पुर्खाले आफ्नो शाखा सन्तान बीच वैवाहिक सम्बन्धमा हाडनाता नपरोस् भनि वाचा गराई राखेको ढुङ्गो हो भन्ने कुरा हर्क बहादुर बाग्रुमी दियाम (भैरोंग जेठा ७८ बर्ष) ले किटानीका साथ् भन्नुहुन्छ। उल्लेखित आँपको रुख मध्ये अर्को रुख सोया गाउँको तोल्ले भन्ने ठाउँमा थियो जुन २०४८ साल पछि ढलेर नाश भएको स्थानीयहरु बाट जानकारी पाइएको छ।
विवाह कसैले कम उमेरमा त कसैले बढी उमेर खाएर गर्ने, साथै कसैको सन्तान छिटो हुने त कसैको ढिलो हुने भएकाले लगभग ३२० वर्ष पहिला दियानाहांग पुर्खाले छुट्टाई दिनु भएको बाग्रुमी दियाम पाछाको २१ पुस्ता (पूर्ण रुपमा तथ्यहरु अझै प्रमणित गर्न बाँकी) भैसकेको र महत्था दियाम पाछाको १४ पुस्ता (सम्पूर्ण तथ्यहरु प्रमाणित र सहमत) नाघेको पाइएको छ। यसरी पुस्तौं पुस्ता हुँदै वर्तमान अवस्थामा आइपुगेको दियाम पाछाका उपपाछाहरु भित्र के कति आन्तरिक घटनाहरु भए, भएन भन्ने सन्दर्भमा, भोजपुर जिल्ला अन्तर्गतका दियाम पाछाका दुइ उपपाछाभित्र कुनै पनि आन्तरिक घटना नभई ३२० वर्ष पार गरी पुर्खाको शर्त पुरा भएको छ भन्न सकिञ्छ। १०औं पुस्तामा आइपुगेपछि मात्र बाग्रुमी र महत्था दियाम बीच वैवाहिक सम्बन्ध स्थापित भएको जानकारी पाइएको छ।
क. यस सन्दर्भमा भोजपुर जिल्लाका शुभनसिं महत्ता दियामकि छोरी भिम्कु र हर्क बहादुर बाग्रुमी दियामका छोरा पंच बहादुर दियाम बीच वैवाहिक सम्बन्ध स्थापित भएको पाइएको छ।
ख. यसैगरी धनकुटा जिल्लाको खोकु गा वि स मा दियाम पाछा भित्रका बाग्रुमी दियामभित्र भएको घटना क्रमले अर्को रिछेनहाङ्ग दियामको स्थापना भएको भन्ने बुझिन्छ। यस सम्बन्धी विस्तृत जानकारी धनकुटा जिल्ला खोकु गा. वि. स. र आँखी सल्ला गा. वि. स. का बाग्रुमी दियाम पाछाहरुको वंश विवरण संकलक श्री प्रेम बाग्रुमी रिछेनहाङ्ग दियाम द्वारा संकलित वंश विवरणबाट स्पष्ट हुनेछ, जुन यसै वंशावलीमा समावेश गरिएको छ।
ग. यसैगरी खोकुका महत्था दियामहरुका बारेमा पदम शेर महात्था दियामका भनाइ अनुसार हतुवा गुर्धुमबाट सुस्त स्वभावको एक पुरुष आएर खोकुका धनवन्त गौरा राईको घरमा बसेका थिए। पछि त्यहीं घरकी एक जना सुस्त स्वभावकी चेली संगै बिहे गरी घर ज्वाईं भएको र उनको पाछा के रहेछ भनी खोज्ने क्रममा उनलाई सोद्धा महत्था दियाम भनेका थिए रे। पाराबुढा नामले चिनिएका उनको बारेमा बुझ्दा हतुवा गुर्धुमका बाग्रुपाका दुइ भाइ छोराहरु मध्ये जेठा छोरा हरिबोल र कान्छा छोरा कदिम्वीर नै भएको बुझिएकाले उनै कदिम्वीर (पाराबुढा) दियाम पुर्खाका सन्तान हुन सक्छ भन्ने अनुमान गर्न सकिञ्छ।
यसैगरी कदिम्वीरका बारेमा होम्तांग गुर्धुमका पुर्व गा. वि. स. अध्यक्ष थाम बहादुर महात्था दियाम, धकमान महात्था दियाम , जानिलाल महत्था दियाम र चतुरमान वालिङ्ग (९३ वर्ष ) को अनुसार गुर्धुमका बाग्रुपा महत्था दियाका दुइ भाइ छोराहरु थिए। जेठाको नाम हरिबोल र कान्छाको नाम कादिम्वीर थियो। कादि...
म्वीर सानै उमेरदेखि जंगलमा बसी ध्यान,जपतप गर्ने गर्थे। पछि लगभग १३ वर्षको उमेर हुँदा बुढाहाङ्ग वाधंग्मीको थान राखेर सेवा गर्न थालेका थिए। यसै विषयलाई लिएर चण्डी डांडा बस्ने ९३ वर्षका चतुरमान वालिङ्ग राईका अनुसार उनी गुर्धुम गाउँको निकै तल ताङ्ग्छुङ्ग खोला छेउ, हाल स्कुले पाखो भनिने ठाउँको छेउमा कादिम्वीर थान स्थापना गरी पुजा गर्ने गर्थे। हाल इटहरीमा बस्ने गोरेका बाजे तत्काल चण्डी डांडाका बरांगे भनेर चिनिने सोहोंवा राईकै घर छेउमा बरको रुख थियो। तल कादिम्वीरले पुजा गरिसकेपछि सो बरको रुख वरपर चण्डी मेला लाग्ने गर्दथ्यो, जुन रुख अझै पनि छंदैछ भनी बताउनु हुन्छ। यहीं कुरामा थप प्रसङ्ग जोड्दै गा. वि. स. पुर्व अध्यक्ष थाम बहादुर महात्था दियामका अनुसार हरिबोलका भाइ कादिम्वीरले नाक्छोंग/पुजारी गर्दा गर्दै लगभग ३० वर्षको उमेर भैसकेको तथा अविवाहित नै रहेकामा अचानक मानसिक स्थिती बेचैनी भएपछी गाउँमा लठेब्रो जस्तो भएर घुमी हिंड्ने गरेको र पछि गाउँबाटै हराई घर नफर्केको बताइन्छ ।
यसरी खोकुका पदमशेर र गुर्धुमका बुढापाकाहरुको भनाइ संयोजन गर्दा गुर्धुमबाट हराएका कादिम्वीर नै खोकुमा आइ पाराबुढा नामबाट परिचित भएको तथा महात्था दियामका पूर्वज भएको भन्ने बुझिन्छ। यो तथ्य स्विकार्दा उनी महात्था दियामहरुका छैठौं पुस्ताका पुर्खा हुन्।
५. दियाम पाछा दाजुभाइको बसोबास
किरात राई बान्तवा भित्रको एउटा विशेष इतिहास बोकेको पाछा हो दियाम पाछा। दियाम पाछाको बसोबास आदिमकालदेखि पूर्वी नेपालको विभिन्न क्षेत्रका साथै हाल देश विदेशमा फैलिएर स्थापित हुँदै गइ रहेका छन्, जस्तै
१. भोजपुर जिल्लाको दक्षिणी क्षेत्रका होम्तांग गा वि स अन्तर्गत विभिन्न वडाहरुमा घना वस्ती र अत्यधिक जनसंख्यामा बसोबास रहेको छ।
२. धनकुटा जिल्लाको खोकु गा. वि. स. अन्तर्गत विभिन्न वडाहरुमा अत्यधिक जनसंख्यामा घना वस्ती रहेको छ। यसैगरी धनकुटा जिल्लाकै आँखिसल्ला गा. वि. स. को मांगफिंग र आहाले गा. वि. स. को चोक्सिरांग गाउँमा दियाम पाछाहरु धेरै पुस्ता अघि देखि बस्दै आएका छन्।
३. यसैगरी सुनसरी जिल्लाको बराहक्षेत्र गा वि स अन्तर्गत विभिन्न वडाहरु जस्तै भरौल,महेन्द्रनगर, पकली, भासी गा वि स को झुम्का, हाँसपोसा गा. वि. स. तथा इटहरी र धरान नगरपालिकाका विभिन्न वडाहरुमा दियाम पाछाका दाजुभाइहरुको बसोबास रहेको पाइएको छ।
४. यसै गरी उदयपुर जिल्लाको ठोक्सिला गा. वि. स. को रामपुर् तथा अन्य वडाहरुमा दियाम पाछा दाजुभाइहरुको बसोबास रहेको पाइएको छ।
५. यसरी नै मोरंग जिल्लाको बेलबारी लगायत केही गा. वि. स. का केही वडाहरुमा दियाम पाछा दाजुभाइहरुको बसोबास रहेको पाइएको छ।
६. यसैगरी नेपालगंजको गणेशपुरमा दियाम पाछाका दाजुभाइहरुको बसोबास रहेको पाइएको छ।
७. दियाम पाछा दाजुभाइहरुको बसोबास भएको स्थान खोजीको क्रममा काठमान्डूको नयाँ बानेश्वरमा पनि बसोबास पाइएको छ।
८. विदेशमा छरिएर रहेका दियाम पाछाका दाजुभाइहरुको खोजी गर्ने क्रममा भारतको राजधानी नयाँ दिल्ली, पश्चिम बङ्गाल राज्यको सिलिगुडी स्थित एम एम्टार र बागडोगरा तथा गुरुबथानमा बसोबास रहेको पाइएको छ।
साथै हंगकंग, यु. के. अमेरिका र युरोपका विभिन्न देशहरु जस्तै रोमानिया, डेनमार्क, नर्वेमा पनि बसोबास रहेको पाइएको छ।
६. दियानाहांग पुर्खाको व्यक्तित्व
दियानाहाङ्ग पुर्खा अत्यन्तै पराक्रमी र दुरदर्शिता भएको व्यक्ति हुनुहुन्थ्यो। साथै वहाँ धार्मिक तथा सामाजिक विचार भएका उदारवादी व्यक्तित्व हुनु हुन्थ्यो। वहाँ संग आन्तरिक ज्ञानको शक्ति थियो। आन्तरिक दृष्टि शक्ति भएका कारण कुनै वस्ती मा कुनै संकट, घटना या आपत्ति आउने कुरा वहाँले अन्तर दृष्टिले बुझ्न सक्नु हुन्थ्यो रे। त्यस्तो अवस्थामा वहाँ स्वयम् गएर उद्दार कार्य गर्नु हुन्थ्यो रे। वहाँ आफ्नो आन्तरिक शक्तिले मानव उद्दारको कार्यहरु गर्नु हुन्थ्यो रे भन्ने गाउँका प्रौढ अग्रजहरुको भनाइ छ।
७. दियाम पाछाहरुको एतिहासिक पुर्ख्यौली थलो
दियाम पुर्खाले हाल दियानतेन (दियाना गाउँ) मा शुरुमा खोरिया फांडी आफ्नो स्थायी बसोबास शुरु गर्नु भएको र त्यहींबाट उहाँको दुइ भाई छोराहरु जेठा जनापति र कान्छा जयगरालाइ दियाम पाछा निर्धारण गरी भविष्यमा सारीसाम्मांग (कुनै दोष) पनि नरहोस्, झैँ झगडा नहोस भनेर सबै श्री सम्पत्तिको बाँडफाँड गरी अंश बन्डा पनि...
गरेर उपपाछामा जेठा जनपति र उनका सन्तानलाइ बाग्रुमी र कान्छा जयगरा र उनका सन्तानलाइ महात्था दियाममा विभाजन गरी त्यहीं दियामबाट हाम्रा दुइ पुर्खाहरु आ आफ्नो अंशबन्डामा परेका जायेजेथा तथा इलाका तिर प्रस्थान गरेका थिए। जसअनुसार जेठा जनपतिले दियाम जैशीधारा चण्डीडांडा देखि पुर्व फकुवा खोलासम्म र उत्तर अरुण नदीसम्म भने कान्छा जयगरा दियामले दियाना जैशीधारा चण्डीडांडा देखि पश्चिम चिचुवा खोलासम्म र उत्तर अरुण खोला पिखुवा खोलासम्मको आ आफ्नो इलाकातिर आ आफ्नो सन्तानहरु फैलाउंदै गएका हुन्। यहीं दियानातेन बाट एतिहासिक रुपमा दियाम पाछा नामांकरण भएको र उपपाछाहरु क्रमश बाग्रुमी र महात्था पाछामा परिणत भै अगाडी बंश बढ्दै गएको हुनाले यस ठाउँलाइ दियामहरुको एतिहासिक पुर्ख्यौली थलो मानिएको छ। यो पुर्व नेपालको भोजपुर जिल्लाको होम्तांग गा वि स वडा नं ६ मा दियानातेन र दियानाडांडा नामले प्रसिद्ध छ।
दियाम पाछाहरु हतुवा गढीदेखि अरुण तरेर पुर्वतिर पलायन हुने कारणहरु थिए,
क. अरुण किनार वारिपारि खेति गर्नु
दियाम पाछाहरु परापुर्वकालमा अरुण नदीको किनारमा खेति गर्ने गर्दथे। खेतीबारी गर्दा गर्दै अरुण नदी वारिपारि गर्न थालेपछि पारीको खेतीको फसल चॆफ़ाबाट खोला तारी ल्याउने गर्दथे। यसो गर्दा त्यसरी धाइरहन समस्या हुन्थ्यो साथै खोकुपट्टि धेरै हेम्मेख हुन थालेपछि दियामपाछाहरु धनकुटाको खोकु तिर बिस्तारै बसोबास गर्न थाले। खोकुमा दियामहरुको धेरै बस्ती भैसकेपछि त्यहाँबाट पनि अन्यत्र आँखीसल्ला, आहाले साथै अन्य स्थानहरुमा बसाईं सरी बसोबास गर्न थालेका हुन्।
ख. हतुवागढ़ीको नर संहार युद्ध
नेपालमा शाह वंशले मल्ल राजाहरुलाई हर्राई त्यहाँ आफ्नो शासन शुरु गरेपछि नेपालको एकिकरणको नाममा पुर्वा तर्फ़ किराँतीहरुका स्वतन्त्र गण राज्यहरुमाथि हमला गर्न थाले। यसै क्रममा गोर्खाली सेनाहरुले माझ किरांतको दुधकोशी तरेर हतुवागढ़ी हमला गर्न आइपुगे। हतुवागढ़ीका वालिहांग राजासंग ६ वर्ष सम्म युद्ध चल्यो। अन्त्यमा वालिहांगका सेनापति अटलसिंलाइ षडयन्त्र पुर्वक विभत्स हत्या गरे। अटलसिंको हत्या पछि समग्र किराँती महिलाहरुमाथि बलात्कार, लुटपाट का साथै निर्मम हत्याको क्रम जारी राखे। साथै यहाँको उर्वर भुमीहरु माथि उनीहरुको गिद्देदृष्टि कायम रहे पछि दियाम पाछा साथै अन्य किराँतीहरु अरुण तरेर पुर्व तर्फ़ पलायन भएका हुन्।
९. दियाम पाछाहरुको चक्वामांग सेवा (कुलपितृ पुजा)
दियाम पाछाहरुको खिप्मांङ् (कुल पितृ), उँधौली उँभौली सेवा गर्दा एउटा विशेष मांङ् हुञ्छ।, त्यो हो चाक्वामांङ् सेवा, चासुम छेन्बी कोपमा सेवा। यसरी सेवा (पुजा) गर्नुको विशेष कारण यस प्रकार छ। कैयौं पुस्ता अघि दियाम पाछा पुर्खाहरु अरुण नदीको किनार फकुवा खोलाको दोभान, मुगा खोलाको दोभान वरिपरि ठुलो क्षेत्रमा खेति गर्ने गर्दथे। खेति पाकेपछि अन्नलाइ वारिपारि गर्नका लागि काठ, बाँस आदिको चेफा बनाइ वारिपारि तार्ने गर्ने गर्दथे। यस्तै क्रममा एक समय अन्नबाली असाध्यै धेरै फ़लेछ। वारिबाट पारि ओसार्दा दियामहरुले कति दिन ओसार्दा पनि नसकिने भएछ। त्यसकारण सल्लाह गर्दा सबै अन्नमाथि बसेर हाइ काढ्नुपर्छ अनि सकिन्छ, भन्ने निष्कर्ष बनेछ। यसो गर्दा पनि सकिएन भने अन्न त्यतिको त्यति नै रहन्छ। यो कुरा बुढाहांग महाराजलाइ नै सोध्नु पर्छ भनेर बुढाहांग महाराज समक्ष पुगेर बिन्ती बिसाएछन, " अन्न जति ओसार्दा पनि सकिन्दैन। त्यति नै रहन्छ। यो के कारणले हो, हामीले के गर्नुपर्छ उपाय बताई दिनुस महाराज।" सबै कुरा सुनी सकेपछि बुढाहांग महाराजले भन्नु भएछ "तिमीहरुले चेफाबाट अन्न तार्दा रहेछौ। त्यो एक चेफा अन्न चाहीं चेफासंगै अरुणबाट बगाइदेउ।"
त्यसपछि केही अन्न ओसारेपछि अन्न सकी हालेछन् तर फेरी पछिका वर्षहरुमा खेति सुक्न थालेछ। कुनै अन्नबाली नफाल्ने भयो र अनिकालले गाउँमा हाहाकार मचिन थालेछ। त्यसपछि फेरी दियामहरु बुढाहांग महाराजसामु गएर " लौ हजुर हामी त अनिकाल ले मर्न लागियो। हाम्रो खेतबारीमा केही पनि उब्जाउ हुँदैन। के कारणले हो, बताई दिनुस महाराज " भनी बिन्ती गरे। यसको कारण अन्नलाइ चासुम छेन्बी (लक्ष्मी या सह) ले छाडीसकेको थियो। चासुम (लक्ष्मी) ले छाडेपछि र सह उडेपछि घरमा सुखशान्ती रहन्न र खेतिबारीमा पनि कुनै अन्न राम्ररी फल्दैन।
यसरी दियाम पुर्खाहरुले बुढाहांग महाराजासंग अनिकाल, भोकमरी अनि हाहाकार लागेकोबारे बिन्ति सुनाएपछि बुढाहांग महाराजले त्यो समस्या समाधानका लागि, "अ...
ब तिमीहरुले चाक्वामांग, चासुम्कोप्मा सेवा गर्नुपर्छ। त्यसको जिम्मेवारी धनीहरुमा पहिलो खण्डहांग , दोस्रो सुम्निथंग, तेस्रो सुक्सिहांग र चौंथो रविथंग रहेका छन् , यसका लागि चारै भाइको चारै थान तैयार गरी उँधौली उँभौली सेवामा चारै भाइको नाम पुकार गरी उनीहरु सबैलाइ भक्ति भाव दिई विधिपुर्वक मांग सेवा गर्नु। तब चासुम छेन्बी (सह लक्ष्मी) फर्की आउनेछन र तिमीहरुको खेतबारीमा अन्नबाली फल्नेछ", भनेर उपायहरु बताइदिनु भए अनुसार दियाम पाछा पुर्खाहरुले त्यति बेला देखि नै उँधौली उँभौली, मांगसेवा का साथै चाक्वामांग सेवा गर्न थालेका हुन् भन्ने किंवदन्ती छ।
चाक्वामांग सेवाका निम्ति निम्न सामग्रीहरुको आवश्यकता पर्दछ।
क. तुब्ला (केराको पात)
ख. वाबु सोलोंग्वा
ग. तुलसी
घ. मिचिलिम्बुंग
ङ. बेछुप (अदुवा)
च. मुत्रुमा
छ. एउटा भाले कुखुरा
ज. एउटा पोथी कुखुरा
झ. फुलहरु
साथै २ वटा वाबु मध्ये एउटामा,
ञ. मर्चा (बोब्खा) र चोखो पानी
ट. अर्कोमा सातमुला पानी
उल्लेखित सामग्रीहरु तयार गरी माङ्पा (पुजारी) बाट चाक्वामांग सेवा गरिञ्छ। यस सेवाले घरमा लक्ष्मीको सह रहन्छ। घर परिवारमा शान्ति, समृद्धि, सम्पन्नता र सुस्वास्थ्य रहन्छ साथै अन्न बाली मनग्गे फल्छ। बुढाहाङ् महाराजले दियाम पाछाहरुलाई अकाल अनिकालबाट बच्ने उपायहरु बताउनु भएका आधारमा वर्तमान समयसम्म पनि यो प्रचलन रही आएको पाइन्छ।
१०. गुर्धुम गाउँ र बारबिसेको नामाकरण सम्बन्धी कथा
भोजपुर जिल्लाको दक्षिण क्षेत्रमा पर्ने दुम्मा गा. वि. स. अन्तर्गतको गाउँमा पाङ्ग्वेन पाछाको एउटा परिवारमा तीन दाजुभाई थिए। ती दाजुभाइमध्ये दुइ दाजु भाइमा मस्तसिं र हाइमोजाबीच आपसमा मनमुटाव हुन थालेछ। त्यसपछि हाइमोजाले दुम्मा देखि अन्तै ठाउँ बसाईं सराइ सर्ने सोच बनाएछन र एकदिन हाइमोजा आफ्नो परिवादलाइ सम्झाईबुझाइ बिदा लिएर नयाँ ठाउँको खोजीमा निस्केछन। उनी पिखुवा खोला तरी चिचुवा खोलाको दोभान देखि खोलै खोला हिंडेर हालको शिरिशे गाउँ निस्के छन्। त्यसपछि सबै ठाउँ हेर्दै हालको गुर्धुमतर्फ़ लागेछन। गुर्धुमतर्फ़ आएपछि गुर्धुमको मध्ये भागमा पर्ने (हाल राबेउमा बारी भनिञ्छ) ठाउँ उनलाई खुब मन परेछ र त्यहीं उनले घर बनाउने सोच बनाएछन। आफु बस्ने घर बनाउने टुंगो गरेपछि अब वस्तु राख्ने, चराउने र पानीको सुविधाको ठाउँ खोजी गर्दै उनले सोचे जस्तै धेर्रै वस्तु राख्न सकिने ठाउँ दियाम टोल भित्रको सुरीले टोल (त्यस समयमा यस ठाउँ लाइ साक्सिरांग भनिन्थ्यो) मन पराएछन्। । अनि वस्तुहरुको लागि पानीको खोजि गर्दा त्यहाँ नजिकै पर्ने हालको कात्तिके भन्ने ठाउँमा पानीको मुहान पाएछन् र त्यहीं आहाल बनाउने सोच बनाएछन्।
यसरी सबै कुराको व्यवस्था हुने ठाउँहरु पत्ता लागे सकेपछि दुम्मा फर्कने सोंच बनाउनु भएछ। फर्कने क्रममा अब गाइवस्तु र सरसामान के कसरी, कताबाट ल्याउने भन्ने बारे सोच्दै जाँदा मार्तांगको फेदीमा पिखुवा खोलाको किनार (हालको बारबिसे) मा केही दिन बसेर जाने सोंच बनाएर घर पुगेछन्। उनी घर फिरेको दाजुभाइ र छरछिमेकले थाहा पाएपछि कहाँ र के, कस्तो ठाउँ पाइयो त भनेर भेला भएर सोधेछन। तब हाइमोजाले उठेर भनेछन, सबै उता फर्केर हेर्नु, जहान गुर्धुम्म परेको ठाउँ छ, त्यहीं मैले हेरेर आएको छु। अब त्यहीं जानेछु। त्यति बेला पाङ्ग्वेन पुर्खा हाइमोजाले गुर्धुम्म नाम उच्चारण गरेकाले त्यस गाउँको नाम गुर्धुम रहन गएको हो भन्ने भनाइ छ।
पाङ्ग्वेन पुर्खा हाइमोजाको गाइवस्तुहरु १२ बीस अथवा १२ कोरी थियो रे। जब दुम्मादेखि गुर्धुमतर्फ़ बसाईं सरी आउने क्रममा घर परिवार र ती १२ बीस चौपायासहित आउँदा पहिले हेरेको ठाउँ पिखुवा किनार मर्तांगको फेदीमा परिवार र सबै गाइवस्तुहरु राखेछन्। त्यहाँ गाइवस्तु राख्न सहज तथा घाँस, पानी को समेत सुविधा भएकाले गाइ वस्तु हेर चाह गर्ने मानिस छाडेर उनी साक्सिरांग आएर सबै भन्दा पहिले गाइ वस्तु का लागि हालको कात्तिकमा पानीको आहाल बनाए, जसबाट खेतिपातिको लागि महात्था दियाम पुर्खाहरुले हालसम्म पनि पानीको प्रयोग गर्दै आइरहेका छन्।
हाइमोजा पुर्खाले हालको राबेउमा बारीमा आफ्नो परिवार बस्ने घर बनाइसके पछि पिखुवा किनारमा राखेको आफ्नो १२ बीस वस्तुहरु साक्सिरांगमा सारे। यसरी मार्तांग ...
फेदी पिखुवा किनारामा हाइमोजा पुर्खाले आफ्नो १२ बीस चौपाया राखेको हुनाले नै त्यस ठाउँलाइ बारबिसे नामाकरण गरिएको हो भन्ने भनाइ रहेको पाइन्छ।
११. सोयागाउँ, बासिखोरा, बाग्चाखा, बयाङ्को नामाकरण र साङ्गसोन पाछा
सोया गाउँ, बासिखोरा, बाग्चाखा र बयांग भन्ने हालका गाउँका नामहरु हुन्। धेरै समय पहिले सोहोंवा पाछाका दुइ दाजुभाइहरु हालको सोया गाउँमा एउटा सानो कुटी बनाएर बसेका थिए। उनीहरु शिकार खेलेर नै जीविकोपार्जन गर्दथे। त्यस ठाउँमा पहिले सोहोंवा पाछाका पुर्खाहरु आएर बसेकाले त्यस गाउँलाइ सोहोंवातेन (सोया गाउँ) भनिएको हो। सोयागाउँदेखि दक्षिणतर्फ़ फलामढुंगा गाउँ पर्दछ। त्यसतर्फ़ जाँदा बाटोमा सुनारपानी भन्ने ठाउँ छ। त्यहाँ एक जोडी नागनागिनहरु बस्दथे। ती नागनागिनहरुले आफ्नो रुप बदलेर बँदेल बनाएर हालको बासिखोरा तर्फ़ घुम्न, चर्न जान्थे र त्यहाँका ओडारहरु सुँगुरको खोर जस्तो बनेको थियो भन्ने किंवदन्ती छ। उनीहरु त्यसैमा खेल्ने गर्दथे। त्यसैले त्यस ठाउँलाई बाग्खोरा (सुंगुरको खोर) भन्न थालिएको र कालान्तरमा बासिखोरा भनी नामाकरण भएको मानिएको छ।
यसैगरी ती नाग नागिनहरु बासिखोराबाट बँदेलकै रुपमा चर्न खान हालको बाग्चाखा तिर जान्थे। राई बान्तवा भाषामा सुँगुर चर्ने ठाउँलाइ बागचान्खा भनिञ्छ। अन्तत यहि शब्द अपभ्रंश भएर हालको बाग्चाखा गाउँको नाम ।रहेको मानिएको छ। साथै सुँगुरहरु सहज रुपले सुत्ने, बस्ने ठाउँलाइ बान्तवा भाषामा बाग्याङ्ग भनिञ्छ। सोहि अनुरुप दियाम पुर्खाहरुले ती बँदेलहरु सुत्ने तथा आराम गर्ने ठाउँलाइ बाग्याङ्ग भनि आएकामा कालान्तरमा अपभ्रंश भइ बयाङ्ग रहन गएको हो भन्ने मानिन्छ।
यसरी एकदिन सोयागाउँका ती दुइ दाजुभाइ सोहोंवाहरु आफ्नो पेटका लागि शिकार खोज्न निक्लेका थिए। फलामढुंगा पुग्ने बेलामा दुइ दाजु भाइ ले एउटा बँदेल निक्लेको देखेछन्। त्यसपछि दाजुले त्यस बँदेललाइ वाण हानेछ , त्यसपछि बँदेल खुन चुहाउँदै भागेछ। दुइ दाजुभाइ त्यसको पछि पछि पछ्याउँदै गएछन। बँदेललाइ पछ्याउँदै जाँदा जाँदा फलामढुंगाको पोखरीमा पुगेपछि बँदेल पोखरी भित्र पसेछ।
दुइ दाजु भाइ ले पोखरी छेउमा बसेर निकै बेर सम्म बँदेल निस्कंछा कि भनेर पर्खेर बसेछन तर बँदेल निक्लेनछ। त्यस पछि दाजु चाहिं ले भाइ लाइ भनेछ, “तिमीले हेरी बस्नु , म पोखरी भित्र खोज्छु। धेरै बेर भए पछि यो पोखरीमा तरी बस्यो भने म बाहिर आउंछु भनेर बुझ्नु तर खुनको तरी बस्यो भने अब दाजु निस्कदैन भनेर बुझ्नु।” यसरी सम्झाए पछि दाजु चाहिं पोखरी भित्र पसेछन। भाइ बाहिर बसेर हेर्दा हेर्दा केहि बेर पछि पोखरीलाइ पुरै दुधको तरीले ढाकेछ तब दाजु निक्लनु हुन्छ भनेर भाइ ढुक्क भएछ। अनि केहि बेर पछि दाजु साँच्चिकै बाहिर निक्लेछ तर बँदेल चाहिं भेटेनछ। त्यस पछि दाजु ले मा फेरी एक पटक पोखरीमा पस्छु। तिमी अघि जस्तै मलाइ पर्खनु। अनि अब दाजु पोखरी भित्र पसेछन र भाइले पर्खि रहेकै बेला पोखरीमा पुरै रगतको तरी बसेछ। त्यस पछि भाइ लाइ अत्यन्तै दुख लागेछ। अब दाजु नफर्किने भयो भन्ने उनलाई ठुलो शोक र चिन्ता लागेछ। कति पर्खंदा पनि दाजु चाही बाहिर निक्लेन छन् त्यसपछि अन्तमा उनले शंका गरेछन कि दाजुले वाणले हानेको बँदेल पक्कै पनि बँदेल थिएनछ, नाग थिएछ। अन्त्यमा त्यहीं नागले दाजुलाइ सिध्यायो। वास्तवमा त्यो बँदेल सुनारपानिमा रहेकै नाग थियो भन्ने भनाइ छ।
यसरी अब पोखरी भित्रबाट दाजु ननिक्लने भए भनेर सबै कुरा बुझेपछि भाइ अत्यन्तै दुखका साथ् आफ्नो कुटी (घर) फर्कंदै थिए। दाजु बितेकामा एक्लै सुर्ताउँदै बाटोमा फर्किंदै गर्दा त्यस्तै एकजना सहारा खोजिरहेको व्यक्तिसंग भेट भएछ। यसरी आफुजस्तै ठुलो दुखपिडा भएको सहाराविहिन व्यक्तिलाइ भेटेपछि सोहोंवाले “ लौ त उस्तै उस्तै रहेछौं, अब मेरो कुटीतिर जाउँ ” भनेछन अब उनीहरु दुवैजना दोहोंवाको कुटीमै बस्न थालेछन्।
उनीहरु शिकार खेलेर नै आफ्नो जिविकोपार्जन गर्ने गर्दथे। केही समय बितिसकेपछि एकदिन कुराकानी गर्दा सोहोंवाले “ ए साथी, तिमी कुन पाछा हौ ” भनी सोधे छन्। साथीलाई आफ्नो पाछा थाहा थिएनछ र भनेछ “ मलाइ त थाहा छैन।” त्यसपछि सोहोंवाले “ ल मेरो पाछा सोहोंवा हो। अब तिम्रो पाछा चाहिं मसंग तिमी मिलेको, मिसिएको (सोहोंवादा साङ्ग्सनचिओ) छौ। त्यसो भएकोले तिमी अब देखि साङ्ग्सोन पाछा भयौ ” भनेर पाछा निर्धारण गरिदिएछ। त्यसैबेलादेखि साङ्ग्सोन पाछाको शुरुवात भएको मानिएको छ। यसरी शुरु भएको साङ्ग्सोन पाछा हालसम्म आएर धेरै उपपाछाहरुमा पनि फैली सकेको छ जस्तै साहासाङ्ग्सोन , ताछा साङ्ग्सोन , खिदिरी साङ्ग्सोन आदि। यसरी साङ्ग्सोन पाछाहरुको पुर्ख्यौली थलो पनि होम्तांग गा. वि. स. नै हो भन्ने भनाइ रहेको पाइन्छ।